पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम
काठमाडौं, चैत — प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।
रास्वपा सभापति रवि लामिछाने ले श्रममन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। आरोपअनुसार मन्त्री साहले आफ्नो पदको प्रभाव प्रयोग गर्दै श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय गराएका थिए।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले उक्त विषयमा विस्तृत अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष औपचारिक सिफारिस पेश गरेका थिए।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार उक्त सिफारिस तथा प्राप्त आधारहरूका आधारमा मन्त्री साहलाई पदमुक्त गरिएको हो। रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) अनुसार पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिन सभापतिको जिम्मेवारी रहेको उल्लेख गर्दै, धारा ६९ अनुसार “राइट टु रिकल” प्रयोग गर्दै मन्त्री साहलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ।
मन्त्री पदबाट हटाइएपछि अब श्रम मन्त्रालयमा नयाँ नियुक्ति हुने सम्भावना बढेको छ भने यस घटनाले सरकारभित्र नैतिकता र उत्तरदायित्वको बहसलाई पुनः तातो बनाएको छ।