डमरु बजाउँदै परिवर्तनको सन्देश: दीपक कार्कीको घोषणापत्रले बर्दिवासका व्यवसायीमा नयाँ आशा
बर्दिवास, महोत्तरी।
बर्दिवास उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार Deepak Bahadur Karki ले आफ्नो प्यानलसहित ४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। “व्यावसायिक विकास र समृद्धिको साझा संकल्प” नारासहित सार्वजनिक उक्त घोषणापत्रले बर्दिवासका व्यवसायीबीच सकारात्मक चर्चा र उत्साह सिर्जना गरेको छ।
घोषणापत्रमा प्रभावकारी नेतृत्वका लागि सक्षम टोली आवश्यक रहेको उल्लेख गर्दै कार्कीले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र दीर्घकालीन आर्थिक समृद्धिका लागि समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
कार्की प्यानलले साना तथा ठूला व्यवसायीबीचको दूरी घटाउँदै पुँजीका आधारमा वर्गीकरण गरी समान अवसर सुनिश्चित गर्ने योजना अघि सारेको छ। घरभाडा सम्झौता, घरधनी–व्यवसायी सम्बन्ध तथा स्थानीय करसम्बन्धी समस्याहरू समाधान गर्न संघले सक्रिय पहल गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी बजार व्यवस्थापनअन्तर्गत सडक किनारका साना व्यवसायीहरूको उचित व्यवस्थापन, बजार सुरक्षामा सुधार तथा नगरपालिकासँग सहकार्य गरी पार्किङ, फुटपाथ, ढल निकास, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
बर्दिवासलाई ट्रान्जिट सहरबाट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रात्रिकालीन बजार सञ्चालन र ‘Stay Bardibas’ प्याकेजमार्फत पर्यटक आकर्षित गर्ने अवधारणा अघि सारिएको छ।
त्यसैगरी व्यवसायीहरूका लागि कानुनी परामर्श डेस्क स्थापना, निजी अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने तथा महिला उद्यमीका लागि सीपमूलक तालिम सञ्चालन गर्ने योजना समेत घोषणापत्रमा उल्लेख गरिएको छ।
कार्कीले “सुरक्षित लगानी, मर्यादित पेशा र समृद्ध बर्दिवास” आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै सम्पूर्ण व्यवसायीलाई आफ्नो प्यानललाई समर्थन गर्न अपिल गरेका छन्।
उक्त प्यानलले आगामी चैत २४ गते हुने निर्वाचनमा ‘डमरु’ चुनाव चिन्ह प्राप्त गरेको छ भने विपक्षी प्यानल ‘कलश’ चिन्हसहित प्रतिस्पर्धामा रहेको छ।