नालाभित्र शव फेला: बर्दिबासको व्यस्त पुलभित्रै देखियो लापरबाहीको डर लाग्दो तस्वीर !
महोत्तरी, चैत ७ गते — महोत्तरीको बर्दिबास नगरपालिका–१, महेन्द्र राजमार्ग अन्तर्गत सानो पुल भित्र रहेको नालामा आज बिहान करिब ९:४५ बजे एक बेवारिसे शव फेला परेको छ।
स्थानीयवासीले नालाभित्र शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार शवको अवस्था हेर्दा केही दिनअघिको हुनसक्ने अनुमान गरिएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
उक्त स्थान अत्यन्त व्यस्त राजमार्ग क्षेत्र भए पनि लामो समयदेखि सरसफाइ तथा नियमित अनुगमनको अभाव रहेको स्थानीयको गुनासो छ। समयमै ध्यान नपुग्दा यस्ता दुःखद घटना दोहोरिने गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ।