सिकारीको गोली लागेर महिला गम्भीर घाइते
नुवाकोट, चैत ६ गते।
नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले चलाएको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन्।
स्थानीय ४१ वर्षीया कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले चलाएको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो।
घटनापछि गम्भीर घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ। हाल उहाँ धुमबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्छ।
प्रारम्भिक अनुसन्धान अनुसार बिहीबार दिउँसो स्थानीय करिब १७–१८ जना मानिसहरू बस्ती नजिकैको जंगलमा सिकार गर्न गएका थिए। सोही क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग गरिएको दुई थान भरुवा बन्दुक र मृगको मासु समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।