मकवानपुरमा ३४ उम्मेदवारको धरौटी जफत, पूर्वविजेता दीपकबहादुर सिंहसमेत १०% मत कटाउन असफल
२७ फागुन, हेटौंडा । मकवानपुरका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी (जमानत) जफत भएको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का १८ जना र क्षेत्र नम्बर २ का १६ जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी जफत भएको हो।
धरौटी जफत हुनेमा अघिल्लो निर्वाचनमा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह पनि परेका छन्। उनले यसपटक सदर मतको १० प्रतिशत कटाउन नसकी ४ हजार ५७४ मत मात्र प्राप्त गरे। अघिल्लो निर्वाचनमा भने उनले २७ हजारभन्दा बढी मत पाएका थिए।
निर्वाचन क्षेत्र नम्बर १ मा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतमसहित पाँचजनाले मात्र आफ्नो धरौटी जोगाएका छन्। नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेका रामेश्वर राना, नेकपा (नेकपा)का विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पनि धरौटी जोगाउन सफल भएका छन्।
यस क्षेत्रमा ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्। क्षेत्र नम्बर १ मा कुल ९५ हजार ३ सय १० मत खसेकोमा ९० हजार ७ सय २५ मत सदर भएको थियो।
यसैगरी, क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेकोमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो। यस क्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
रास्वपाका प्रशान्त उप्रेती (विजयी), नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले मात्र आफ्नो धरौटी जोगाएका छन्।
कानुनी व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। उम्मेदवारी दर्ता गर्दा बुझाइएको १० हजार रुपैयाँ धरौटी जफत हुँदा राज्यकोषमा जाने प्रावधान रहेको छ।