गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा केन्द्रीय निर्वाचन सेलको निरीक्षण, निर्वाचन सुरक्षा प्रविधिमैत्री बनाउन जोड
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्याल ले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टरको निरीक्षण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्वाचन सुरक्षा व्यवस्थापनमा थप सक्रिय हुन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले केन्द्रीय निर्वाचन सेलमार्फत सबै जिल्लास्थित निर्वाचन सेलमा भइरहेको कामकाज र गतिविधि बारे जानकारी लिनुभयो। साथै, प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन नेपाल प्रहरीले प्रयोग गरेको विभिन्न प्रणालीका बारेमा जानकारी लिनुभयो।
उहाँले निर्वाचनको तयारीको प्रशंसा गर्दै शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन थप सक्रिय भएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो। साथै, निर्वाचनका समयमा उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्न अन्य सुरक्षा र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै प्रभावकारी कार्यसम्पादन गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली सेनाका रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ प्रहरी अधिकृतहरूको पनि उपस्थिति थियो।
प्रतिनिधि सभा निर्वाचन, २०८२ को लागि नेपाल प्रहरीले Election Management Information System (EMIS) प्रणाली सञ्चालनमा ल्याएको छ। यस प्रणाली मार्फत प्रदेश, जिल्ला र स्थानीय तहसम्मको प्रहरी जनशक्ति र निर्वाचनसँग सम्बन्धित क्रियाकलापलाई छिटो र व्यवस्थित ढंगले अनुगमन र रिपोर्ट तयार पार्न सकिनेछ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्ले का अनुसार, EMIS प्रणालीको प्रयोगबाट देशभरका मतदानस्थलको सुरक्षा व्यवस्थापन कमाण्ड सेन्टरबाटै निगरानी गर्न सकिनेछ र आवश्यक निर्देशन दिन सकिनेछ।
यसैगरी, देशभर जडान भएका ७८६ वटा CCTV क्यामेरामा AI फिचर (Face Recognition, Automatic Number Plate Recognition, Behavior Analysis, Smart AI Feature) मार्फत मतदानस्थलको गतिविधि कमाण्ड सेन्टरबाटै प्रत्यक्ष निगरानी हुनेछ। ७ वटा सीमा नाकामा २२ वटा, काठमाडौं भित्र ७ सय वटा, र विराटनगर तथा वीरगञ्जमा ६४ वटा CCTV जडान गरिएको छ।
साथै, Real Time Video Surveillance Camera र रेडियो सेट संवेदनशील मतदानस्थलहरूमा वितरण गरिएको छ। कमाण्ड सेन्टरबाट आवश्यक परेको खण्डमा ड्रोन प्रयोग समेत गरिने छ।
नेपाल प्रहरीको Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) ले सामाजिक सञ्जालमा फैलिने गलत र मिथ्या सूचना नियन्त्रणमा पनि प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।
प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्ले भन्छन्, “प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकार हाम्रो प्राथमिकता हो, जसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षा थप मजबुत बनाउँछ।”