मध्यपूर्व तनाव : नेपालीको सुरक्षामा सरकार–एनआरएनए उच्चस्तरीय संयन्त्र गठन
काठमाडौं, २० फागुन। मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षाका लागि सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच उच्चस्तरीय समन्वय सुरु भएको छ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीले परराष्ट्र मन्त्रालयमा भेट गरी मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकको सुरक्षा, आपतकालीन उद्धार तथा आवश्यक समन्वयका विषयमा ध्यानाकर्षण गराएको हो।
भेटमा परराष्ट्र सचिव अमृतबहादुर राईले पश्चिम एसियामा विकसित परिस्थितिपछि सरकारले ‘र्यापिड एक्सन टिम’ गठन गरेर सम्भावित जोखिम व्यवस्थापनका काम अघि बढाइसकेको जानकारी दिएका छन्। उक्त संयन्त्रले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक परेमा उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापन गर्ने बताइएको छ।
एनआरएनएले परराष्ट्र मन्त्रालय, श्रम तथा वैदेशिक रोजगारसम्बन्धी निकायहरूसँग सहकार्य गरी आपतकालीन संयन्त्र शीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ। साथै, अनलाइन पोर्टलमार्फत समस्याबारे जानकारी दिन सक्ने व्यवस्था गरिएको सरकारको भनाइ छ।
मध्यपूर्वका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली समुदायमा चिन्ता बढेको छ। यसैबीच, सरकार र एनआरएनएबीचको समन्वयलाई सकारात्मक रूपमा हेरिएको छ।