नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्यो, पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयअनुसार मिति २०८२/०८/३० गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ तथा तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ तथा तेस्रो वर्गमा १४६ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमका अनुसार निगमको डिपो/कार्यालयबाट १५ किलोमिटरको दूरीभित्र पर्ने क्षेत्रमा पहिलो वर्ग, दोस्रो वर्गमा मध्यम दूरीका क्षेत्र तथा तेस्रो वर्गमा दुर्गम क्षेत्रहरू पर्दछन् । नयाँ मूल्यसूची देशभर लागू हुने निगमले स्पष्ट पारेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा आपूर्ति अवस्थालाई ध्यानमा राखी आवश्यकताअनुसार मूल्य समायोजन गर्दै आएको जनाएको छ ।