
बर्दिबास, महोत्तरी | असोज २०
बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमाथि उपचारमा लापरवाही र आर्थिक प्राथमिकता दिएको गम्भीर आरोप उठेको छ। असोज १५ गते मोटरसाइकल दुर्घटनामा परेका मन्दिप चुरौटे (वय ४२, बर्दिबास) लाई जनसेवा अस्पतालमा प्रारम्भिक उपचारपछि सिटी स्क्यानका लागि शुभ स्वस्तिक अस्पताल ल्याइएको थियो।
परिवारका अनुसार, अस्पतालले “पहिले पैसा तिरेर मात्र सेवा पाउँछ” भन्दै बिरामीलाई रोकेर राखेको र पछि बिल तिरेपछि मात्र सिटी स्क्यान गरिएको थियो। रिपोर्टमा एपेन्डिक्स फुटेको भन्दै तुरुन्त अपरेसन गर्नुपर्ने सुझाव दिइएको थियो।
तर जनसेवा अस्पतालमा पुनः परीक्षण गर्दा सो रिपोर्ट गलत सावित भएको र बिरामी औषधि उपचारले नै ठिक भएको जनाइएको छ। जनसेवा अस्पतालका चिकित्सक डा. सुमन सिंहले “रिपोर्टमा देखाइएको समस्या बिरामीमा नदेखिएको” बताएका छन्।
घटनाबारे शुभ स्वस्तिक अस्पतालका सञ्चालक दिपक कार्की लाई जानकारी गराउँदा “कल ब्याक गर्छु” भन्दै पाँच दिनसम्म कुनै प्रतिक्रिया नआएको परिवारको दाबी छ।
स्थानीयवासीहरूले यो घटनालाई सामान्य गल्ती नभई नैतिक र व्यावसायिक जिम्मेवारीको उल्लंघन मानेका छन्। उनीहरूले स्वास्थ्य संस्थामाथि प्रभाव राख्ने स्थानीय राजनीतिक निकायहरूले पनि यस्ता घटनामा मौनता नअपनाउन आग्रह गरेका छन्।
एक स्थानीय नागरिकका अनुसार,
“अघिपनि यस्ता धेरै घटना आएका थिए तर धाकचोप गरेर लुकाइन्थ्यो। अहिले फेरि उही प्रवृत्ति दोहोरिएको देखिन्छ। योबारे अब नबोले कहिले बोल्ने?”
बर्दिबासका एक सामाजिक अभियन्ताले थपे,
“यदि आज हामी आवाज उठाएनौं भने भोलि थप बिरामी पीडित हुनेछन्। स्वास्थ्य सेवा धर्म हो, व्यापार होइन।”
पीडित परिवारले सम्बन्धित निकायसँग अस्पतालको रिपोर्ट प्रणाली, शुल्क प्रक्रिया, र चिकित्सकीय जिम्मेवारीबारे छानबिनको माग गरेका छन्। स्थानीय समुदायले अस्पताल सेवा सुधार र सार्वजनिक जवाफदेहिताको माग गर्दै आवाज बुलन्द पारेका छन्।