समुदायसँग बाँधिएको मोरङका एक डाक्टरको दशैं कथा
दशैं आउँदा सबै नेपालीको घर-घरमा खुशी छाउँछ। बजार चकाचक हुन्छ, पसलहरूमा भीड जम्मा भएको हुन्छ , मान्छेहरू परिवारसँग रमाउन व्यस्त हुन्छन्। तर मोरङका एक चिकित्सकका लागि दशैंको अर्थ भने अलि फरक छ।
यो कथा हो—मोरङ, विराटनगरका डा. हुलासको।
रेजिडेन्सी तालिमकै क्रममा उनले शहर नजिकैको मुडेरी गाउँ “अनौपचारिक रूपमा” अपनाएका थिए। त्यही सम्बन्ध यतिबेला गाउँले र डाक्टरबीच परिवारझैँ गहिरो बनेको छ। गाउँका वृद्ध–वृद्धा उनलाई केवल चिकित्सक मात्र होइन, आफ्नै “डाक्टर छोरा” भन्छन्।
दशैंमा डा. हुलास घरमै बस्न सकेनन् । हातमा रक्तचाप नाप्ने यन्त्र, केही आवश्यक औषधि र दशैंको उपहारझैँ फलफूल बोकेर उनी मुडेरी गाउँ पुगे। गाउँलेहरू उनलाई देख्नेबित्तिकै वरिपरि घेरिए। कसैले रक्तचाप जाँच गराए, कसैले मधुमेहको औषधि मागे, कोही पुरानो रिपोर्ट लिएर आए भने कतिपय त केवल उनको हात समाएर धन्यवाद भन्न आए।
गाउँकी एक वृद्धा आँसु झार्दै भनिन् -“दबाइ किनेला पैसा नैछ, सबै खतम छैला। तर बौवा दशैंमै दबाइ लाके , अब कोनो डर नैछ।”
डा. हुलास मुस्कुराए, तर भित्रभित्रै गहिरो भावनाले छोयो।
उनी भन्छन्—“मेरो लागि दशैंको सबैभन्दा ठूलो पर्व भनेको समुदायको अनुहारमा देखिएको राहत र सन्तोष हो।”
यो केवल एक दिनको कथा मात्र होइन।
गत वर्ष, डा. हुलास र उनकी पत्नी डा. रानी भगत अग्रवाललाई २० भन्दा बढी देशहरूको गठबन्धनले “Primary Care Team Award” प्रदान गर्यो। नेपालले प्राथमिक स्वास्थ्य क्षेत्रमा सम्भवतः पहिलोपटक पाएको यो प्रतिष्ठित AAAH (Asia Pacific Action Alliance on Human Resources for Health) Award थियो।
नेपलिज सोसाइटी फर प्राइमरी केयरमार्फत उनीहरूले आफ्नै तलबबाट हजारौं मानिसलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याएका छन्। विश्व स्वास्थ्य संगठन (WHO), जाईका लगायत संस्थाले विश्वभरका आवेदकमध्ये उत्कृष्टतालाई छनोट गरी यो सम्मान दिने गर्दछ।
यसरी दशैंको दिन गाउँ पुगेका डा. हुलासको भेट केवल औषधि वितरण मात्र थिएन। त्यो दिन मुडेरी गाउँमा एउटा नयाँ पर्व मनाइयो—
मायाको पर्व,
आशाको पर्व,
र स्वास्थ्यको पर्व।
डा. हुलास र डा. रानीले गाउँ–गाउँमा उपचारको उज्यालो फैलाइरहेका छन्। दशैंमा त उनीहरूको उपस्थितिले गाउँमा “उपहार” भन्दा ठूलो खुशी ल्याउँछ—स्वास्थ्य र आशाको भरोसा।