दशैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो। परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने, स्वादिष्ट परिकार खाने, पुजा–आजा गर्ने यो पर्वले हाम्रो जीवनमा खुशी र एकता ल्याउँछ। तर यसै बेला स्वास्थ्यप्रति लापरबाही गर्दा समस्या पनि बढ्न सक्छ। धेरै मासु, मदिरा, मिठाई, घ्यू–तेलयुक्त खाना सेवन गर्ने चलनका कारण मोटोपना, मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी समस्या र दुर्घटनासम्म हुने जोखिम बढ्छ। त्यसैले दशैंलाई स्वस्थ तरिकाले मनाउनु आजको आवश्यकता हो।
१. सन्तुलित खानेकुरामा ध्यान दिनुहोस् : दशैंमा मासु र तेलयुक्त खाना बढी खान पाइन्छ। तर मात्रा सन्तुलित राखौँ। मासु खाँदा सकेसम्म भुट्ने वा झोलमा पकाउने तरिका रोजौँ, अत्यधिक तरेको खानाबाट बचौँ।सलाद, हरियो तरकारी, दाल, फलफूल अनिवार्य राखौँ। मिठाई, पेयपदार्थ , जुस कम सेवन गरौँ।
२. मदिरा (रक्सी) को प्रयोगमा संयम : धेरैले दशैंलाई रक्सी पिउने पर्व ठान्छन्। तर यसले स्वास्थ्यमा गम्भीर असर पार्छ—कलेजो, मुटु, मानसिक स्वास्थ्य, परिवारिक सम्बन्धमा नकारात्मक असर गर्छ।यदि पिउनै परे पनि सीमित मात्रामा पिउनुहोस् र गाडी नचलाउनुहोस्। “Drink and Drive” दुर्घटनाको मुख्य कारण हो।
३.सफाइमा ध्यान दिनुहोस् : दशैंमा घर सफा गर्ने मात्र नभई खानपिनमा प्रयोग हुने भाँडाकुडा, पकाउने स्थान, खाने पानी सफा र सुरक्षित बनाऔँ।दुर्गन्धित वा बिग्रन लागेको खाना नखाऔँ।
४. व्यायाम र शारीरिक गतिविधि : पर्वमा केही दिन छुट्टी हुने भएकाले बिहानै हिँड्ने, साइकल चलाउने वा हल्का व्यायाम गर्न सकिन्छ।परिवारसँग रमाइलो गर्न लुडो, भलिबल, क्यारेम वा अन्य खेल गतिविधि गर्न सकिन्छ।
५. मानसिक स्वास्थ्य र सम्बन्ध : दशैं केवल खाने–पिउने पर्व होइन, मन मिलाउने र आत्मीयता बढाउने अवसर पनि हो। लामो समयदेखि नबेटेका आफन्त वा साथीलाई सम्झेर फोन गर्ने, भेट्ने, कुरा गर्नेले मानसिक स्वास्थ्यलाई सकारात्मक बनाउँछ।
६. आर्थिक व्ययमा संयम: दशैंमा धेरै खर्च गर्ने बानीले तनाव र समस्याहरू ल्याउन सक्छ। आफ्नो आयअनुसार खर्च गरौँ, अनावश्यक प्रतिस्पर्धा नगरी साधारण तरिकाले पर्व मनाऔँ।
७. सडक सुरक्षा : यात्रा गर्दा सुरक्षा नियम पालना गरौँ। बेलैमा टिकट काटौँ, भीडभाडमा यात्रामा सावधानी अपनाऔँ। मोटरसाइकल वा कार चलाउँदा हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गरौँ।
निष्कर्ष
दशैंलाई स्वस्थ र रमाइलो दुवै बनाउन सकिन्छ। खानपानमा सन्तुलन, रक्सीप्रति संयम, व्यायाम, मानसिक स्वास्थ्यप्रति ध्यान, र सडक सुरक्षामा सतर्कता अपनाउँदा हामीले पर्वलाई अझ सुखद बनाउन सक्छौँ। यसपटक दशैंलाई मात्र रमाइलो गर्ने अवसर नभई, स्वास्थ्यप्रद जीवनशैली सुरु गर्ने अवसर बनाऔँ।
लेखक: डॉ. पार्थ गुरागाईं विराट मेडिकल कलेज सामुदायिक चिकित्सा विभागका विभागिय प्रमुख हुन्।