नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु, विद्यालयस्तरमै फुटबलमार्फत समग्र विकासको अभियान
काठमाडौँ, १५ साउन – नेपालमा विद्यालयस्तरका बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रमको उद्घाटन सन्दर्भमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर शुभारम्भ गर्नु भएको थियो। उद्घाटन समारोहमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, खेलकुदमन्त्री तेजुलाल चौधरी, र अर्थमन्त्री विष्णु पौडेल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यो कार्यक्रम विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा, अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमले विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ। यसमार्फत फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी बालबालिकामा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता जस्ता जीवनोपयोगी सीपहरू विकास गराइनेछ।
एन्फाका अनुसार, कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई आवश्यक तालिम, र फुटबल शिक्षण प्रणालीको एक भाग बनाउने कामलाई प्राथमिकता दिइनेछ।
शिक्षा र खेललाई एकसाथ अघि बढाउँदै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास गर्ने यो अभियानले नेपालको विद्यालय शिक्षामा एक नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।