बर्दिबासको शिक्षा : SEE को नजरमा
✍️ रवि निरौला
बर्दिबास, महोत्तरी — “बर्दिबासलाई शिक्षा हब बनाउने” भन्ने वाक्य धेरैजसो मञ्चमा सुनिन्छ र लेखिन्छ। तर, २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाले यस दाबीलाई पुनः विश्लेषण गर्न बाध्य बनाएको छ।
२०८१ सालको चैत्रमा सम्पन्न SEE परीक्षामा बर्दिबास नगरपालिकाका ३४ विद्यालयबाट १३७८ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८०३ जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरे भने ५७५ जना अनुत्तीर्ण भए — जसले अब ग्रेड सुधार परीक्षा दिनुपर्नेछ।
संस्थागत र सामुदायिक विद्यालयबीचको खाडल
नतिजा हेर्दा संस्थागत विद्यालयहरूतर्फ आशाजनक प्रगति देखिएको छ। ६ वटा निजी विद्यालयहरूले शतप्रतिशत सफलता हासिल गरेका छन्। तर, सामुदायिक विद्यालयहरूतर्फ भने अवस्था निकै कमजोर देखिएको छ। एकमात्र सामुदायिक विद्यालयले मात्र शतप्रतिशत नतिजा ल्याउन सकेको छ।
गएको वर्ष शतप्रतिशत नतिजा ल्याएर सम्मानित भएको जन जागृति मा.वि., बर्दिबास–३ को यो वर्षको नतिजा मात्र ८ प्रतिशत रहेको छ — जसमा एक जना मात्र विद्यार्थी सफल भएका छन्। एउटै विद्यालयको एक वर्षको उत्कृष्टता अर्को वर्षमा यसरी खस्किनु गम्भीर समिक्षाको विषय हो।
सफलता र चुनौती सँगसँगै
यसबाहेक, जनता मा.वि., बर्दिबास–३ गौरीडाँडा ले सबैभन्दा बढी विद्यार्थी सहभागी गराएर सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ। देउराली मा.वि. ले पनि पछिल्लो व्यवस्थापन र प्रयासमार्फत आफूलाई सुधार्ने संकेत दिएको छ।
तर, भौतिक रूपमा नमुना विद्यालयको रूपमा स्थापित जनता मा.वि., बर्दिबास–२ को नतिजाले भने अझ मिहिनेत आवश्यक रहेको सन्देश दिएको छ।
औसतभन्दा कमजोर नगरको समग्र नतिजा
देशको औसत नतिजाको तुलनामा बर्दिबास नगरपालिकाको समग्र नतिजा कमजोर देखिएको छ। तथापि केही विद्यालयहरू भने आआफ्नो प्रतिष्ठा जोगाउन सफल भएका छन्।
उदाहरणका लागि, बर्दिबास–५ मा रहेका दुई छिमेकी विद्यालयमध्ये पञ्चधुरा मा.वि. को नतिजा स्मरणयोग्य रहन सकेन भने इच्छेश्वर मा.वि. जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये पर्न सफल भयो।
शून्य परिणामका विद्यालयहरू
बर्दिबास नगरपालिका अन्तर्गतका छोड्के मा.वि., टुटेश्वरनाथ मा.वि. (डिपु), लक्ष्मीवास मा.वि. (भाङ्रे) को नतिजा पूर्णरूपमा शून्य रहेको छ। साथै, सरस्वती मा.वि. (खयरमार), रा.मा.वि. (दमारभञ्ज्याङ), पञ्चधुरा मा.वि. (चेरु), जन जागृति मा.वि. (पाटु) को नतिजा पनि ८ प्रतिशतभन्दा तल नै छ — जुन अत्यन्तै निराशाजनक अवस्था हो।
शिक्षा सुधारका आवश्यकता
बर्दिबास नगरपालिकाले भौतिक विकासलाई मात्र शिक्षाको विकास ठानिरहेको वर्तमान परिप्रेक्ष्यमा, अब शैक्षिक गुणस्तर सुधार गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नु अत्यावश्यक देखिन्छ।