बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समग्र उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको छ।
७ प्रदेशको सहभागिता रहेको प्रतियोगितामा बागमतीले उत्कृष्ट प्रदर्शन गर्दै ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक हात पार्यो। यस शानदार उपलब्धिसँगै बागमती प्रदेश समग्र टिम च्याम्पियन घोषित भयो।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो। सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जितेको थियो।
पूर्वका तीन संस्करण (११औं, १२औं र १३औं) मा उपाधि जितेको लुम्बिनी प्रदेश यसपटक तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य पदक प्राप्त गर्यो।
प्रतियोगितामा जम्मा ६ खेलमा ६८६ खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता अवधिभरमा ९ वटा राष्ट्रिय कीर्तिमान समेत स्थापित भएका छन्। विजेता प्रदेशहरूलाई पदक, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको छ।
